काठमाडौं । संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ ।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले यसको निम्ति आजै सूचना प्रकाशित हुने जानकारी दिए ।
‘संसदीय समितिका सभापतिहरुको अविलम्ब निर्वाचन गर्नुपर्ने, टुंग्याउनुपर्ने विषयमा भयो । ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरुको निर्वाचन हुनेछ । १० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ,’ उनले भने, ‘यसरी अब प्रतिनिधिसभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । आजै सूचना प्रकाशित हुनेछ । आज यही महत्त्वपूर्ण निर्णय भएको छ ।’
बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो !
प्रतिक्रिया