काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनीपछि अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम गर्ने सहमति भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो सहमति पाकिस्तानको मध्यस्थतामा अन्तिम समयमा भएको हो।
सम्झौताअनुसार होर्मुज जलडमरू क्षेत्रमा व्यापारिक जहाजहरूको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्ने सर्तमा युद्धविराम लागू गरिएको छ। यो मार्ग विश्व ऊर्जा आपूर्तिको प्रमुख नाकासमेत भएकाले यसको पुनः सञ्चालनलाई मुख्य शर्त बनाइएको हो।
यसअघि राष्ट्रपति ट्रम्पले इरानलाई समयसीमा दिँदै सहमति नभए ठूलो सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए। उक्त दबाबकै बीच अन्तिम समयमा कूटनीतिक पहल सफल भएको बताइएको छ।
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि इरानविरुद्धका आक्रमणहरू रोकिएमा आफूहरू युद्ध अन्त्य गर्न तयार रहेको संकेत दिएका छन्।
यस संकटमा पाकिस्तानले मुख्य मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै कूटनीतिक समाधानका लागि समयसीमा थप गर्न आग्रह गरेको थियो, जसपछि दुई पक्षबीच अस्थायी सहमति सम्भव भएको हो।
यद्यपि यो युद्धविराम अस्थायी मात्र भएकाले दीर्घकालीन समाधानका लागि आगामी दिनमा थप वार्ता आवश्यक रहने बताइएको छ।























प्रतिक्रिया