अन्तरराष्ट्रिय

मध्यपूर्वबाट सेना फिर्ता गर्ने ट्रम्पको अभिव्यक्तिले नयाँ तरंग



वासिङ्टन डीसी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ संकेत दिएका छन् । उनले इरान सँग सम्झौता भए वा नभए पनि आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना फिर्ता बोलाइने बताएका हुन् ।

ह्वाइट हाउस स्थित ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरान कमजोर अवस्थामा पुगेको दाबी गरे । उनका अनुसार इरान अहिले सम्झौता गर्न बाध्यजस्तै देखिएको छ । “हामी छिट्टै त्यहाँबाट निस्किँदैछौँ, अब सम्झौता हुनु–नहुनुले ठूलो अर्थ राख्दैन,” उनले भने ।

ट्रम्पका अनुसार अमेरिकाले इरान निकट भविष्यमा परमाणु हतियार निर्माण गर्न नसक्ने सुनिश्चितता पाएपछि मात्रै पूर्ण रूपमा सेना फिर्ता गर्ने निर्णय लिएको हो ।

यसैबीच, उनले अमेरिकी सहयोगी राष्ट्रहरूप्रति पनि कडा सन्देश दिएका छन् । विशेष गरी बेलायत लगायत देशलाई लक्षित गर्दै टुथ्र सोसल मार्फत उनले लेखेका छन्, “अब आफ्नो तेल आपूर्ति सुरक्षित गर्न उनीहरूले आफैँ पहल गर्नुपर्नेछ । अमेरिका सधैँ तपाईंहरूको लागि लडिरहने छैन ।”

उता, अमेरिकी रक्षा सचिव पिट हेगसेथ ले हर्मुज क्षेत्र मा जहाजहरूको आवागमन बढिरहेको जानकारी दिएका छन् । तर कूटनीतिक विश्लेषकहरूका अनुसार इरानको प्रभाव रहेको उक्त क्षेत्रमा चुनौती दिन अन्तर्राष्ट्रिय स्तरमा अझै स्पष्ट रणनीति देखिएको छैन ।

ट्रम्पको यो अभिव्यक्तिले मध्यपूर्वको सुरक्षा समीकरणमा नयाँ तरंग ल्याउने संकेत गरेको छ ।

प्रकाशित : १८ चैत्र २०८२, बुधबार, ,