breaking news

आज देशभर वर्षा,पश्चिममा बढी प्रभाव



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा वर्षा हुने तथा पश्चिम नेपालमा यसको प्रभाव बढी रहने जनाएको छ। विभागले चट्याङ, हावाहुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ, जसको असर आजदेखि अझ बढ्नेछ। उनले केही स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने जानकारी दिए।

उनका अनुसार पश्चिम नेपालमा बिहानैदेखि यसको प्रभाव देखिनेछ भने दिउँसोसम्म काठमाडौँ उपत्यकामा पनि असर पुग्नेछ।

विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ। मधेससहित अन्य प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको विभागले जनाएको छ।

विभागका अनुसार बिहीबार पनि देशभर बदली रहनेछ र मौसम आंशिक रूपमा प्रभावित रहनेछ

प्रकाशित : २५ चैत्र २०८२, बुधबार, ,