राजनीति

कांग्रेस संसदीय दलको बैठक आज, नेता चयन मुख्य एजेन्डा



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा हुने तय भएको छ।

बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूले संसदीय दलको नेता चयन गरिसके पनि कांग्रेसले भने हालसम्म आफ्नो नेता तय गर्न सकेको छैन।

कांग्रेस संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निस्कल राई र भरतबहादुर खड्कालगायतका नेताहरूको नाम चर्चामा रहेको छ।

अरु राजनीतिक दलहरूले भने संसदीय दलको नेता चयन गरिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भई प्रधानमन्त्रीसमेत बनिसकेका छन्।

यसैगरी, नेकपा एमालेले रामबहादुर थापालाई, नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई, श्रम संस्कृति पार्टीले अध्यक्ष हर्क साम्पाङलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेताको जिम्मेवारी दिइसकेका छन्।

प्रकाशित : २३ चैत्र २०८२, सोमबार, ,