राजनीति

सर्बोच्च जाने तयारीबाट पछि हटे कांग्रेसका निबर्तमान सांसद



काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने तय गरिएको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) का लागि तय गरिएको भेटघाट कार्यक्रम स्थगित गरिएको हो ।

नेपाली कांग्रेसले सूचना जारी गर्दै ‘विशेष कारण’ देखाउँदै उक्त कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । सूचनामा भनिएको छ, “डेलिगेसन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ ।”

विघटित प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेका अनुसार प्रधानन्यायाधीश राउतको सचिवालयबाट फोन गरी आजका लागि तय भएको भेटघाट कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी दिइएको हो ।

यसअघि घिमिरेको नेतृत्वमा रहेको टोली बिहान १०:३० बजे सर्वोच्च अदालत जाने कार्यक्रम तय भएको थियो । कांग्रेसका ६५ जना पूर्व सांसदहरूले संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । तर, उक्त रिटमाथि हालसम्म सुनुवाइ सुरू भएको छैन ।

 

प्रकाशित : १५ माघ २०८२, बिहिबार, ,