राजनीति

कसैको शिर निहुरिने अवस्था आउन दिने छैन : सभापति थापा



काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा  नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गर्व गर्ने वातावरण बनाउने दृढता व्यक्त गरे ।

“जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरूमध्ये कसैको पनि शिर निहुरिने अवस्था आउन दिने छैन। नेपाली कांग्रेस पार्टीको शान जोगाउँछु। यो पार्टीमा लागेका सबै साथीहरूले नेपाली कांग्रेस भएकोमा गर्व गर्ने अवस्था बनाउँछु। नागरिक अप्ठ्यारोमा पर्दा कांग्रेस छ भन्ने अनुभूति दिलाउने काम पार्टीले गर्नेछ,” नवनिर्वाचित सभापति थापाले भने ।

उनले विशेष महाधिवेशन नेपाली कांग्रेसको इतिहासमा मात्र नभई आधुनिक नेपालको इतिहासमै भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको उल्लेख गरे। “भुइँ तहका कार्यकर्ता भनेका जनताका प्रतिनिधि हुन्, नागरिक हुन्। यो दलभित्र नागरिकले गरेको हस्तक्षेप हो,” उनले स्पष्ट पारे ।

सभापति थापाले नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जिकिर गर्दै वैधानिक प्रक्रियाबाट विशेष महाधिवेशन भएको अवस्थामा पार्टी फुट्यो भन्ने प्रश्न नै नउठ्ने बताए ।

यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

प्रकाशित : १ माघ २०८२, बिहिबार, ,