काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने स्पष्ट दाबी गरेका छन्।
विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद चर्किँदै गएको सन्दर्भमा महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरिएको महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशनको हलबाट बाहिरिने बताएका हुन्।
उनले लेखेका छन्, “विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।”
यसअघि पत्रकार सम्मेलनमार्फत यही पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आह्वान भइसकेको घोषणा गरिएको थियो। उक्त महाधिवेशनमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा सहभागी हुने घोषणा गरिसकेका छन्।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशन नगर्ने पक्षमा देखिएको छ भने महामन्त्रीद्वय शर्मा र थापा पक्षका नेताहरूले भने जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गर्दै आएका छन्।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियानसमेत चलाएका थिए। सो अभियानमा ४० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेकाले विधानअनुसार महाधिवेशन गर्नैपर्ने शर्माको भनाइ छ।
























प्रतिक्रिया