राजनीति

महाधिवेशनमा सर्वसम्मतिका नाममा कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन : अध्यक्ष ओली



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११औँ राष्ट्रिय महाधिवेशन पार्टीभित्र उन्नत, रुपान्तरित र सुदृढ एकताको प्रदर्शन हुने बताएका छन् ।

एमाले केन्द्रीय प्रचार समितिले आइतबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको ११औँ महाधिवेशनको प्रतीक चिह्न (लोगो) सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले सर्वसम्मतिका नाममा प्रतिस्पर्धा रोक्ने वा अनिवार्य रूपमा चुनाव हुनुपर्छ भन्ने दुवै धारणा गलत रहेको स्पष्ट गरे । उनले पार्टी नेतृत्वको हैसियतमा सहमति, एकता, रुपान्तरण र पुस्तान्तरणमा आफू केन्द्रित रहने बताए ।

“सर्वसम्मतिका नाममा कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन। एमालेमा स्वच्छ प्रतिस्पर्धा रहन्छ,” अध्यक्ष ओलीले भने, “तर मेरो आग्रह छ—एकताबद्ध भएर जाऔँ। आपसमा होच्याउने, नकारात्मक टिप्पणी गर्ने, अपमान गर्ने जस्ता कार्य नगरौँ।”

अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा ठूलो संगठनात्मक वा राजनीतिक परिवर्तन आवश्यक नभएको बताए। विधान महाधिवेशनले नै आवश्यक परिवर्तन गरिसकेकोले अब साना परिमार्जन मात्र छोटो प्रक्रियाबाट हुने उल्लेख गरे। यस महाधिवेशनको मुख्य उद्देश्य नीति र संगठनात्मक संरचनालाई अघि बढाउने तथा नेतृत्व निर्माण गर्ने हो भनेर उनले स्पष्ट पारे।

उनका अनुसार महाधिवेशन स्वभावतः पुनःगठन र पुस्तान्तरणको थलो हो, र आवश्यकताअनुसार परिवर्तन स्वाभाविक रूपमा हुन्छ। प्रतिष्पर्धा खुला रहने, जसले चाह्यो भने स्वतन्त्र रूपमा चुनाव लड्न पाउने र कसैलाई रोक्ने संस्कृति नभएको उनले जोड दिए।

ओलीले एकता, सहमति, सम्मान र सभ्य प्रतिस्पर्धालाई प्राथमिकता दिन आग्रह गरे। कसैले नेतृत्व छोड्नुपरेमा वा अगाडि बढ्नुपरेमा पनि सहमतिको आधारमा निर्णय गर्नुपर्ने भन्दै एमालेलाई गतिशील र लोकतान्त्रिक पार्टीका रूपमा अघि बढाउन उनले आह्वान गरे।

प्रकाशित : १५ मंसिर २०८२, सोमबार, ,