काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन मिति नजिकिँदै जाँदा पार्टीभित्रको आन्तरिक राजनीति तातिएको छ। मंसिर २७–२९ मा हुने महाधिवेशनलाई लक्षित गर्दै प्यानल निर्माण, आकांक्षीहरूको दौडधुप र प्रतिनिधि छनोट प्रक्रियाले केन्द्रदेखि गाउँसम्म एमालेको माहोल चर्किएको देखिन्छ।
अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित बनेको छ। पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको चर्चा चलिरहेका कारण बाटोघाटोदेखि जिल्ला–स्थानीय तहसम्म यसको प्रभाव देखिन थालेको छ। केही जिल्लामा प्रतिनिधि सर्वसम्मत चयन भए पनि धेरै ठाउँमा प्रतिस्पर्धा तीव्र छ, कतिपय स्थानमा त विवाद कुटपिटसम्म पुगेका छन्। सुनसरी-१ को धरानमा पोखरेल पक्षका नेतामाथि कुटपिट भएको घटना एमालेभित्रको आन्तरिक तनाबको उदाहरण बनेको छ।
पार्टीले ‘सके सर्वसम्मत, नसके निर्वाचन’ भन्ने सर्कुलर जारी गरेको छ। तर, इतर समूहले संस्थापन पक्षले आफू नजिकका व्यक्तिलाई जिताउन दबाब र शक्ति प्रयोग गरिरहेको आरोप लगाएका छन्। देशभरबाट झन्डै २२ सय प्रतिनिधि चयन हुँदैछन्, जसको विवरण मंसिर १५ भित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन भइसकेको छ।
अध्यक्षमा ओली–पोखरेल प्रतिस्पर्धा स्पष्ट भएपछि ओली समूह ‘स्थिर नेतृत्व’ र ‘ओली ब्रान्डिङ’लाई मुखरित गर्दै अघि बढिरहेको छ। अर्कोतर्फ महेश बस्नेतले पोखरेललाई उम्मेदवारी फिर्ता लिन चेतावनी दिएपछि तनाव सतहमा आएको छ।
महाधिवेशनमा पदाधिकारीहरूको दौडधुप पनि तीव्र बनेको छ। महासचिवका लागि संस्थापनतर्फ शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ सक्रिय छन् भने पोखरेल समूहबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टका नामहरू अघि आएका छन्। उपाध्यक्षदेखि सचिवसम्म करिब चार दर्जन आकांक्षी देखिएका छन्, यद्यपि प्यानल भने दुवै समूहले अझै टुंगो लगाएका छैनन्। महासभाको उद्घाटन भक्तपुर सल्लाघारीमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय छ।
प्रतिनिधि छनोटमै कडा प्रतिस्पर्धा
देशभर अधिकांश जिल्लामा प्रतिनिधि छनोट प्रतिस्पर्धात्मक बनेको छ। कोसी प्रदेशका धेरै ठाउँमा सहमति हुन नसक्दा निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि छानिने भएको छ। शुक्रबारसम्म सोलुखुम्बुमा मात्र सर्वसम्मत प्रतिनिधि चयन सकिएको सचिव भण्डारीले जानकारी दिए।
मोरङमा ४६ कोटाका लागि १४५ जनाले मनोनयन दर्ता गर्दा प्रतिस्पर्धा उच्च देखिएको छ। त्यस्तै झापामा ३८ कोटाका लागि १४८जनाले उम्मेदवारी दिएको छ। सदस्य संख्या धेरै भएकाले दुवै जिल्लामा सहमति कठिन भएको नेताहरू बताउँछन्।
एमालेका सात पदाधिकारी ओलीको पक्षमा
एमालेका सातजना पदाधिकारीहरू अध्यक्ष ओलीको पक्षमा खुलेका छन् । शुक्रबार भएको अनौपचारिक छलफलबाट नेतृत्वको निरन्तरतामा उभिने निष्कर्ष सात पदाधिकारीले निकालेका हुन् ।
ओली पक्षमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल खुलेका छन् । मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सुदृढ पार्टी एकताको पक्षमा योगदान गर्न सम्बद्ध सबैसँग उनीहरूले आग्रह पनि गरेका छन् ।
साथै, उनीहरूले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढंगले दिशानिर्देश गर्नसक्ने सक्षम केन्द्रीय कमिटी निर्माणमा योगदान गर्ने निष्कर्षसमेत अघि सारेका छन् । पार्टीभित्र निर्णायक मानिएका उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङ आफ्नो पक्षमा खुलेपछि आगामी महाधिवेशनको समीकरण ओलीका लागि निकै सहज बनेको छ ।
अनेरास्ववियुद्वारा सर्वसम्मत प्रतिनिधि चयन
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भने सर्वसम्मतिको आधारमा महाधिवेशन प्रतिनिधि छानेको छ। चयन भएकामध्ये दीपक धामी, विकास श्रेष्ठ, अञ्जना शिवाकोटी, कमल जोशी, आकाश घर्ती, रचना सापकोटा तथा अञ्जली लम्साल छन्।
एमाले महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व प्रतिस्पर्धा, प्यानल निर्माण र प्रतिनिधि छनोटको तनावले पार्टीभित्रको राजनीतिक तापक्रम अझै बढ्ने संकेत देखिएको छ।























प्रतिक्रिया