राजनीति

कांग्रेस महाधिवेशनको मिति निर्धारणमा मतभेद,



काठमाडौं । १५औँ  महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

संस्थापन पक्ष र इतर (विपक्ष) पक्षले अलग–अलग मिति प्रस्ताव गर्ने तयारी गरेका छन्।

आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन पक्षले चुनावपछि वैशाख महिनामा महाधिवेशन गर्ने प्रस्ताव राख्ने तयारी गरेको छ।

एक केन्द्रीय सदस्यका अनुसार संस्थापन पक्षबाट उमाकान्त चौधरी, किशोरसिंह राठौर वा महेन्द्र यादव मध्ये एकजनाले मिति प्रस्ताव गर्नेछन्। इतर पक्षबाट भने महामन्त्रीद्वय गगनकुमार थापा वा विश्वप्रकाश शर्मा मध्ये एकजनाले चुनावअघि नै महाधिवेशन गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन्।

संस्थापन पक्षका ५९ केन्द्रीय सदस्य सोमबार भेलामा जुटेका थिए। सो भेलामा सहभागी ४६ सदस्यले आफ्नो धारणा राखेका थिए। तीमध्ये अधिकांशले विगतमा महाधिवेशनपछि चुनावमा जाँदा अन्तरघातका कारण उम्मेदवार हारेको अनुभव रहेको भन्दै, यो पटक पहिले चुनाव गरेरपछि मात्रै महाधिवेशन गर्ने सुझाव दिएका थिए।

एक नेताका अनुसार, ‘महाधिवेशनको आलो घाउ लिएर चुनावमा जाँदा हिजो जस्तो हार दोहोरिन सक्छ, त्यसैले अहिले चुनावमै ध्यान दिनु उचित हुन्छ’ भन्ने धारणा धेरैजसो सदस्यको रहेको थियो।

विशेष महाधिवेशनको माग गर्दै आएका केन्द्रीय सदस्य गुरु घिमिरेले भने कांग्रेस अहिले चुनाव अघि कि पछि महाधिवेशन गर्ने भन्ने विषयमा रुमलिएको टिप्पणी गरे। उनका अनुसार संस्थापन पक्ष अझै पनि ‘संसद पुनर्स्थापनाको मनोविज्ञानमा अड्किएको’ छ।

घिमिरेले महामन्त्रीद्वयको प्रस्तावअनुसार १६ वा १९ पुस महाधिवेशनको मिति उपयुक्त हुनसक्ने बताएका छन्। तर संस्थापन पक्षले २१ फागुनमा चुनाव हुने भएकाले महाधिवेशन वैशाखमा धकेल्ने तयारी गरेको बुझिएको छ।

प्रकाशित : १८ कार्तिक २०८२, मंगलबार, ,