काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णयले नेकपा (एकीकृत समाजवादी) पार्टी गम्भीर विवादमा फसेको छ। पार्टीभित्रै एकता प्रक्रियालाई स्थगन गर्नुपर्ने आवाज उठेपछि नेकपा (एस) अब विघटन वा विभाजनको सङ्घारमा पुगेको देखिन्छ।
चार वर्षअघि नेकपा (एमाले) बाट अलग भएर गठन गरिएको नेकपा (एस) ले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेको थियो। तर, सो निर्णयप्रति असहमति जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताहरूले शनिबार काठमाडौँको सुकेधारामा वैकल्पिक भेला आयोजना गरेका छन्।
२०७८ भदौ २ गते निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एस) ले गठनपछि नेपाली कांग्रेस र माओवादी केन्द्रसँग चुनावी सहकार्य गर्दै संघीय, प्रदेश र स्थानीय तहका निर्वाचनमा भाग लिएको थियो। तर पछिल्लो तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा भएको माओवादीसँग एकता निर्णयले पार्टीभित्र गहिरो असन्तोष ल्याएको हो।
शनिबारको भेलामा महासचिव भुसालले तत्काल कुनै दलसँग एकता नगरी वैकल्पिक वामपन्थी मोर्चा निर्माण गर्नुपर्ने धारणा राख्दै नेकपा (एस) लाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले माओवादीसँगको एकता भन्दा पनि विचारगत र संगठनात्मक स्वाभिमान जोगाउनुपर्ने बताए।
उता, अध्यक्ष माधवकुमार नेपाल निकट समूहले भने माओवादी केन्द्रसँगको एकता निर्णयलाई बलियो वाम एकताको दिशामा उठाइएको कदमको रूपमा व्याख्या गरेको छ। उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि केन्द्रीय कमिटीको निर्णयअनुसार पार्टी अब माओवादीसँग मिलेर सशक्त कम्युनिस्ट शक्ति निर्माण गर्ने दिशामा अघि बढ्ने बताएका छन् ।
यसरी एक पक्षले एकता प्रक्रियालाई अघि बढाउने र अर्को पक्षले रोक्ने अडान लिएपछि नेकपा (एस) आन्तरिक विभाजनको गम्भीर चरणमा प्रवेश गरेको देखिन्छ।
यता माधवकुमार नेपाल पक्षले भने एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको ‘घरफर्क अभियान’ माओवादी केन्द्र र नेकपा (एस) बीचको एकता प्रक्रियालाई भाँड्ने उद्देश्यले गरिएको आरोप लगाएको छ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकपछि जारी धारणा सार्वजनिक गर्दै केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले ओलीको कदम पार्टीभित्र कुनै भ्रम सिर्जना गर्न नसक्ने दाबी गरे ।
“हाम्रो यस ऐतिहासिक एकता निर्णयबाट अत्तालिएर केपी ओलीले ‘घरफर्क’ भन्ने भ्रमजाल फ्याँकेका हुन्,” विज्ञप्तिमा भनिएको छ, “यो हाम्रो बीचको एकता प्रक्रियालाई भाँड्ने उनको दुष्प्रयास मात्र हो।”
ज्वालाले पार्टी पंक्तिलाई एकताबद्ध रहन आह्वान गर्दै कुनै पनि भ्रममा नपरी केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्ने नीतिगत निर्णय गरेको थियो, जसपछि एमाले अध्यक्ष ओलीले पूर्व एमाले नेताहरूलाई ‘घरफर्क’ हुन आह्वान गरेका थिए।























प्रतिक्रिया