राजनीति

नेपाली कांग्रेसका सभापति एक महिनापछि सार्वजनिक हुने तयारी



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झन्डै एक महिनापछि आज (मंगलबार) सार्वजनिक हुने सम्भावना रहेको छ ।

जेन–जी आन्दोलनको दोस्रो दिन (भदौ २४) बूढानीलकण्ठस्थित निवासमै साँघातिक हमलामा परेपछि देउवा उपचार र विश्राममा रहँदै आएका थिए । लामो सघन उपचारपछि घर फर्किए पनि उनी अहिलेसम्म कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

आजदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा सहभागी हुने तयारीमा रहेको बुझिएको छ ।

यसअघि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सहभागी हुने भनिए पनि अन्तिम समयमा उनी उपस्थित भएका थिएनन् । उक्त बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए ।

देउवाले पछिल्ला भेटघाट र आन्तरिक छलफलमा पार्टी एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे सुझाव दिइरहेको बताइन्छ ।

यसबीच, कांग्रेसभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान तीव्र बनेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको समूहले ५५ प्रतिशतभन्दा बढी हस्ताक्षर संकलन भएको दाबी गरेको छ, तर संस्थापन पक्षले यस कदमले पार्टी विभाजनको जोखिम बढाउने चेतावनी दिएको छ ।

सभापति देउवाले आगामी १५औं महाधिवेशनमा नेतृत्वका विषयमा अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेका छैनन् । तर आजको केन्द्रीय कार्यसमिति बैठकमार्फत उनले पार्टीभित्र सन्तुलन र दिशा दिने किसिमको महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ ।

प्रकाशित : २८ आश्विन २०८२, मंगलबार, ,