राजनीति

दलका नेता–कार्यकर्तालाई जेल हाल्ने र प्रतिबन्ध लगाउने प्रयास भइरहेकोछ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलका नेता–कार्यकर्तालाई भ्रष्टाचार छानबिनको नाममा जेल हाल्ने र प्रतिबन्ध लगाउने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत उनले जेन–जी आन्दोलनपछि बनेको गैरदलीय सरकारका बीच पनि लोकतान्त्रिक उपलब्धिहरूमाथि संकट कायम रहेको बताए ।

“विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन परिणाम निकाल्ने प्रतिगामी चलखेल अझै बाँकी छ,” प्रचण्डले भनेका छन् ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको समीक्षा गर्दै उनले फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गर्न सबैपक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

यस्तै, उनले विचार मिल्ने दलहरूसँग एकता र ध्रुवीकरणको पहल गर्दै राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सबै लोकतान्त्रिक देशभक्त शक्तिहरूसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

“यतिखेर हामी नेपालको राजनीतिक इतिहासकै अत्यन्तै कठिन परिस्थितिमा रहेका छौं । क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा ठोस विश्लेषणका आधारमा मात्र नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्न सकिन्छ,” प्रचण्डले भने।

समग्र परिस्थितिको वस्तुगत मूल्यांकन गर्दै पार्टीले आगामी रणनीति तय गर्नु आवश्यक रहेको उनले बताए ।

प्रकाशित : ९ आश्विन २०८२, बिहिबार, ,