राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै, उपसभामुख प्रकरण र विवादास्पद विधेयक मुख्य एजेण्डा



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान १० बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने भएको छ।

बैठकमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार चयन, उपसभामुख इन्दिरा रानामगरमाथि उठेका पदीय आचरण विपरीतका आरोप तथा उनलाई पदबाट हटाउने तयारीबारे छलफल हुने बताइएको छ।

त्यस्तै, सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी विवादास्पद प्रावधानलाई लिएर आलोचनामा परेका सभापति रामहरि खतिवडाको राजीनामाबारे पनि बैठकमा विचार–विमर्श हुने जनाइएको छ।

उपसभामुख रानामगरलाई पदच्युत गर्न कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका बेला, पार्टीभित्रकै इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यस कदमको विरोध जनाएका छन्।

यसैले आन्तरिक मतभेद समेट्न सभापति देउवाले बैठक बोलाएको बुझिएको छ

प्रकाशित : ९ भाद्र २०८२, सोमबार, ,