मुख्य समाचार

उपत्यकाका नदी किनारका बस्ती खाली गराउने अभियान जारी



काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार, जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गामा निर्माण गरिएका बस्ती खाली गराउने कार्यलाई निरन्तरता दिएको छ। आज आइतबार पनि वाग्मती नदी किनारको बस्ती खाली गराउने तयारी छ ।

यसक्रममा शनिबार काठमाडौँ महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती खाली गरिएको छ। यस्तै वडा नम्बर ९ को गैरीगाउँ–सिनामंगल र वडा नम्बर ३१ को शान्तिनगर क्षेत्रमा पनि बस्ती हटाउने क्रम जारी रहेको जनाइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा अवैध रूपमा निर्माण गरिएका बस्ती हटाउने तयारीसमेत भइरहेको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ सुकुम्बासी घरधुरी रहेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले अवैध संरचना हटाएर क्षेत्र खाली गराएको हो। सुरक्षाकर्मीहरूले त्यहाँ बसोबास गर्दै आएका नागरिकको सामान हटाउन तथा अन्यत्र सार्न सहयोगसमेत गरेका थिए।

थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा

प्रधानमन्त्रीको सचिवालयका अनुसार थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ।

सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण संकलन गरिएको छ भने काठमाडौँका विभिन्न स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ। हाल उनीहरूको घरायसी सामान सुन्दरीघाटस्थित राधास्वामी सत्सङ व्यासमा सुरक्षित राखिएको जनाइएको छ।

अस्थायी रूपमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान कार्य भोलिबाट सुरु गरिने बताइएको छ। प्रमाणीकरणका क्रममा वास्तविक सुकुम्बासी प्रमाणित भएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित अपार्टमेन्टमा स्थानान्तरण गरिने र त्यसपछि दीर्घकालीन व्यवस्थापन प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रकाशित : १३ बैशाख २०८३, आइतबार, ,