मुख्य समाचार

विश्वराज पोखरेलको व्यवहारप्रति महावीर पुनको आपक्ति : बर्खास्त गर्न माग



काठमाडौँ । पूर्वशिक्षामन्त्री तथा सांसद महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको व्यवहारप्रति कडा टिप्पणी गरेका छन् ।

 शुक्रबार सार्वजनिक भएकाे एक भिडियोमा सांसद पोखरेलले विद्यालयका प्रधानाध्यापक स्वागतका लागि गेटसम्म नआएको भन्दै असन्तुष्टि व्यक्त गरेको देखिन्छ । सोही भिडियो सार्वजनिक भएपछि पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् ।

पुनले सांसदको व्यवहारप्रति आपत्ति जनाउँदै लेखेका छन्, “यिनी कुन पार्टीका हुन् कुन्नि ? म यिनको नेता भएको भए ठाउँको ठाउँ बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सांसद भनेको जनताको नोकर हो ।”

उनले सांसदको मुख्य जिम्मेवारी जनताले दिएको काम गर्नु र पाँच वर्षसम्म आफ्नो समय तथा क्षमता जनताको सेवामा लगाउनु पर्ने उल्लेख गरेका छन् ।

पुनले थप लेखेका छन्, “बाटोमा स्वागत गरेनन् भनेर दुनियाँले देख्ने र सुन्ने गरी यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पर्छ कि त सारा जनताले फिर्ता बोलाउनु पर्छ । सांसद पदको बेइज्जत नै गर्‍यो ।”

सांसद पोखरेलको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समेत व्यापक आलोचना भइरहेको छ ।

प्रकाशित : १२ बैशाख २०८३, शनिबार, ,