मुख्य समाचार

अस्पतालबाट डिस्चार्ज भए ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास पुगेका हुन् ।

उनको सचिवालयका अनुसार स्वास्थ्य अवस्था सुधार भएपछि चिकित्सकको सल्लाहमा अस्पतालले डिस्चार्ज दिएको हो ।

जेनजी आन्दोलनका घटनामा अनुसन्धानका लागि गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि सोही दिन शिक्षण अस्पताल लगेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमै भर्ना गरिएको थियो । त्यसपछि प्रहरीले अस्पतालमै हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो ।

ओलीकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि अदालतको परमादेशअनुसार चैत २६ गते उनलाई हिरासतमुक्त गरिएको थियो ।

त्यसपछि प्रहरीले अस्पतालमै पत्नी राधिकाको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरेको थियो । यद्यपि, ओलीले त्यही दिन अस्पतालबाट डिस्चार्ज लिएका थिएनन् ।

यसअघि नै उनको पित्तथैलीमा पत्थरी देखिएको थियो । सोही समस्याका कारण चैत ३० गते शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि थप ६ दिन उपचारमा बसेपछि उनलाई डिस्चार्ज गरिएको हो ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार, ,