मुख्य समाचार

आर्थिक वर्ष २०८३/०८४ को बजेट सन्तुलित बनाइन्छ: प्रधानमन्त्री शाह



काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सन्तुलित बनाइने बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कर्णाली प्रदेशका सङ्घीय सांसदहरूसँग भएको छलफलमा उनले बजेटमार्फत कर्णालीलाई न्यायोचित रूपमा सम्बोधन गरिने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शाहले “कर्णालीलाई आगामी बजेटमा न्यायोचित सम्बोधन गरिन्छ, बजेट सन्तुलित हुन्छ” भनेर बताएको कुरा सल्यान क्षेत्र नं. १ का सांसद रमेश मल्लले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले सरकारले यस वर्ष शासकीय सुधारलाई प्राथमिकतामा राख्ने पनि स्पष्ट पार्नुभएको थियो।

छलफल आगामी बजेटमै केन्द्रित रहेको भन्दै सांसद मल्लले कर्णालीका विभिन्न विकास आवश्यकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए। सांसदहरूले जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण, मनसुनपूर्व तयारी, कर्णाली, भेरी र राप्ती क्षेत्रका सडक करिडोर, मध्यपहाडी, मदनभण्डारी र लुम्बिनी–रारा लोकमार्गलगायत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

त्यसैगरी स्वास्थ्य बिमा, मातृ–शिशु पोषण, दैलेखको पेट्रोलियम खानी अनुसन्धान, वन्यजन्तु जोखिम व्यवस्थापन, साथै सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, वन, पर्यटन र शिक्षा क्षेत्रका विषयमा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

उक्त छलफलमा कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेसराष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूको सहभागिता रहेको थियो।

प्रकाशित : १७ चैत्र २०८२, मंगलबार, ,