breaking news

माधव नेपालसहितको भ्रष्टाचार मुद्दा आज विशेष अदालतमा सुनुवाइ



काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा आज सुनुवाइका लागि पेशी तोकिएको छ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणसम्बन्धी यो मुद्दा विशेष अदालतमा अन्तिम सुनुवाइको चरणमा पुगेको छ।

न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा आज सुनुवाइ हुने तय भएको हो। यसअघि अदालतले बहस नोट पेश गर्न आदेश दिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै गत जेठ २२ गते मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजाय मागदाबी गरेको छ।

अभियोगपत्रअनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी तथा सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोप छ। साथै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको दाबी गरिएको छ।

नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पनि पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको उल्लेख छ। करिब ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको आरोपमा अख्तियारले सोही बराबरको बिगो दाबी गर्दै मुद्दा अघि बढाएको हो।

प्रकाशित : २ बैशाख २०८३, बुधबार, ,