मुख्य समाचार

भाइरल भिडियोपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पोखरेलले मागे माफी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुङ्गास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई गेटमा स्वागत गर्न नआएको भन्दै असन्तुष्टि जनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्।

पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा आफूबाट कमजोरी भएको स्वीकार गरेका हुन्।

उनले सार्वजनिक जीवनमा रहने व्यक्तिको बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने उल्लेख गर्दै आफ्नो अभिव्यक्तिले असहज परिस्थिति सिर्जना गरेको स्वीकार गरेका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, “यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो। त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु।”

पोखरेलले घटनाको यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्य मात्र काटछाँट गरेर सामाजिक सञ्जालमा भिडियो भाइरल बनाइएको दाबी पनि गरेका छन्।

उनले आफू जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवार, संयमित र मर्यादित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित : १३ बैशाख २०८३, आइतबार, ,