देश / प्रदेश

खुला नाकाबाट क्वारेन्टिन जाँचबिनै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी



वीरगन्ज (पर्सा)। सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी तथा फलफूल वीरगन्ज भित्रिने क्रम बढेको पाइएको छ। खुला सीमानाकाको फाइदा उठाउँदै दैनिक साइकलमार्फत भारतीय तरकारी बजारसम्म ल्याइने गरिएको स्थानीयले बताएका छन्।

पर्सा र बारासँग जोडिएका विभिन्न खुला नाका हुँदै साइकल चालकहरूले ताजा तरकारी तथा फलफूल ल्याउने गरेका छन्। बाराको विश्रामपुर गाउँपालिका, वीरगन्ज महानगरपालिकाको नगवा, इनर्वालगायत क्षेत्र यसका मुख्य प्रवेश मार्ग बनेका छन्।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलले क्वारेन्टिन जाँचबिनै भित्रिने तरकारी तथा फलफूलले जनस्वास्थ्यमा असर पार्न सक्ने भएकाले तत्काल नियन्त्रण गर्नुपर्ने बताएका छन्। उनले खुला नाकाको दुरुपयोग गर्दै विभिन्न समूहले छपकैया, इनरुवा, विश्रामपुरलगायत स्थानबाट दैनिक ठूलो परिमाणमा तरकारी भित्र्याइरहेको दाबी गरे।

वीरगन्जमा बिहान सबेरैदेखि साइकल चालकहरूले प्रतिसाइकल भारतीय तरकारी ल्याउने गरेका छन्। तर स्थानीय प्रशासन र सीमाक्षेत्रमा खटिएका सुरक्षा निकायले प्रभावकारी कारबाही गर्न नसकेको आरोप लाग्दै आएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्सार प्रक्रिया पूरा गरी क्वारेन्टिन जाँचमा योग्य भएका तरकारी तथा फलफूलमात्र नेपाल भित्र्याउन पाइने बताए। उनले जाँचबिनै ल्याइएका कृषि उपज फेला परे आवश्यक अनुगमन गरी नियन्त्रणमा लिइने बताएका छन्।

सशस्त्र प्रहरी बल नम्बर १३ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पर्साभन्दा बढी बाराको विश्रामपुर गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रबाट क्वारेन्टिन जाँचबिनै तरकारी भित्रिएर वीरगन्ज बजार पुग्ने गरेको जानकारी दिए।

प्रकाशित : १३ बैशाख २०८३, आइतबार, ,