राजनीति

मधेसका साथीहरूले देखाएको आत्मीय स्वागत र मायाले उत्साहित भएको छु : सभापति थापा



सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसलाई नजिकबाट पढ्न र बुझ्न मधेस आएको बताएका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नं. ४ का मतदातालाई साेमबार सम्बोधन गर्दै सभापति थापाले सुनेको मात्र होइन, मधेसको वास्तविकता बुझ्ने उद्देश्यले यहाँ आएको स्पष्ट पारे। सिमरा विमानस्थलमा अवतरण गरेपछि विभिन्न स्थानमा मधेसका साथीहरूले देखाएको आत्मीय स्वागत र मायाले आफू उत्साहित भएको उनले बताए ।

नेपाली कांग्रेसको नेताको हैसियतले मधेसले कांग्रेस र लोकतन्त्रका लागि दिएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले अब मधेसको भाषा, रहनसहन, वेशभूषा, संस्कार र संस्कृतिबारे गहिरो रूपमा सिक्ने प्रतिबद्धता जनाए । “केही साथीहरूले स्थानीय भाषामै एक लाइन भए पनि बोल्न सुझाव दिनुभएको थियो,” उनले भने, “तर म दुई दिनको औपचारिकता देखाउन आएको होइन। सबै कुरा सिकेर मात्र बोल्छु।”

काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधित्व गर्दै संसद्मा मधेसका मुद्दा पटक–पटक उठाउँदै आएको स्मरण गराउँदै सभापति थापाले यस पटक मधेस र यहाँका सवालहरू प्रत्यक्ष रूपमा बुझ्ने अठोट व्यक्त गरे। मधेसप्रति समर्पित नभई र मधेसलाई आत्मसात नगरी सम्पूर्ण रूपमा नेपाली हुन नसकिने ठानेर आफू मधेस आएको उनको भनाइ थियो।

प्रकाशित : १३ माघ २०८२, मंगलबार, ,