काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सोमबार राती ६ घण्टासम्म चलेको छलफलमा दुवै जनाले भावी प्रधानमन्त्री बन्ने चाहना गरे पनि ठोस निकास भने निस्कन सकेन । यद्यपि, छिट्टै सहमतिसहित निकास निकाल्नुपर्नेमा उहाँहरू एकमत रहेको बताइएको छ ।
आगामी निर्वाचनमा दुवैजना वा सबै नयाँ शक्तिहरू मिलेर जानुपर्नेमा समेत सहमति भएको तर त्यसको मोडालिटी के हुने भन्नेमा निक्र्यौल भई नसकेको अवस्थामा आगामी दिनमा नयाँ भनिएका सबैसँग सहकार्य गरी साझा मोडालिटी बनाउनुपर्नेमा दुवैजना सहमत भएको रवि र बालेनका निकटस्थहरूले बताएका छन् ।
बालेनले कुलमान घिसिङलाई पनि साथै लिएर अघि बढ्नुपर्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुभएको बताइएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका परिकल्पनाकार मानिएका कुलमानबीच धेरै चरणमा छलफल भए पनि उहाँहरूबीच कुनै सहमति हुन सकेको थिएन । कुलमानले सुरुमा रवि जेलमा नै रहेकाले आफैंलाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक अध्यक्ष दिनुपर्ने र आफ्नै नेतृत्वमा चुनावमा जानुपर्ने माग राखेपछि रास्वपाका अन्य नेताहरू कुलमानसँग बिच्कन पुगेका थिए । त्यसपछि कुलमानले रास्वपामा प्रवेश गर्ने योजना रद्ध गरी आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी घोषणा गर्नुभएको थियो ।
निर्वाचन आउनै लाग्दा कुलमानले मन्त्री पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्ने र चुनावी प्रचारमा होमिने रणनीति बनाउनुभएको छ ।
रवि लामिछाने जेलबाट छुटेलगत्तै कुलमानको योजनामा समेत हल्का ब्रेक लाग्न पुगेको स्रोतको दाबी छ । कुलमान आफ्नै उज्याले पार्टीलाई अघि बढाउने र भविष्यमा आफंै प्रधानमन्त्री हुने योजनामा रहेको उनी निकटस्थहरूको भनाइ छ । सुरुमा कुलमानको यो योजनामा बालेनले सहमति दिए पनि पछिल्ला दिनमा रवि लामिछानेको आगमनसँगै बालेन रविसँग मिल्ने कि कुलमानसँग भन्नेमा दुविधा सिर्जना भएको बताइएको छ । यद्यपि, जेन–जी समूहले फागुन २१ को निर्वाचनअघि नै उहाँहरू सबैलाई एक ठाउँ ल्याउन लगातार प्रयास गर्दै आइरहेका थिए ।
























प्रतिक्रिया