राजनीति

एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ : अध्यक्ष ओली



काठमाडौँ  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सबैका लागि खुला र फराकिलो स्थान भएको बताएका छन्।

साेमबार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा अध्यक्ष ओलीले जनताले सबैभन्दा बढी समर्थन गरेको एमाले सानो सोच भएको दल नभएको स्पष्ट पारे।

“नेकपा एमाले सानो चित्त र सानो दिल भएको भन्ने हल्ला चलाइएको छ,” उनले भने, “तर देशका जनताले सबैभन्दा धेरै भोट र कार्यकर्ता दिएको पार्टीलाई साँघुरो भन्नेहरू गलत छन्। यहाँ जो कोही पनि सहज रूपमा, फराकिलो ढङ्गले बस्न सक्छन्।”

अध्यक्ष ओलीले हालको सरकारले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएको भए पनि अन्य विषयमा बढी ध्यान दिएको टिप्पणी गरे।

उनले एमालेप्रति युवाको विश्वास अझै बलियो रहेको बताउँदै भने, “एमाले देश बनाउने आशा र भरोसाको केन्द्र हो। फेसबुकका होइन, घरघरका युवाहरू एमालेसँग छन्।”

त्यसै अवसरमा, नेत्री रामकुमारी झाँक्रीले पुनः एमालेमा प्रवेश गर्दै सबै क्रान्तिकारी शक्तिहरूलाई एमालेमा फर्किन आह्वान गरिन्। उनले सार्वभौमिकता, सार्वजनिक सम्पत्ति र नागरिक जीवनको सुरक्षाका लागि एमालेमै जुट्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, किसान श्रेष्ठले पनि चार वर्षअघि गरेको निर्णय गल्ती भएको बताउँदै पुनः एमालेमा फर्किएका छन्। उनले भने, “आदर्श, दृष्टि र देशलाई आर्थिक तथा राजनीतिक निकास दिने सामर्थ्य एमालेसँगै छ। मुलुकको विकास, समृद्धि र सुशासनका लागि काम गर्ने पार्टी एमाले नै हो।”

प्रकाशित : २५ कार्तिक २०८२, मंगलबार, ,