अन्तरराष्ट्रिय

नेपाल विश्वकप नजिक : अन्तिम ओभरमा नेपालको रोमाञ्चक जित



काठमाडौं । फेरि एकपटक नाटकीय मोडसहित नेपालले कतारको मुखमा पुगिसकेको जित खोस्दै टी–२० विश्वकप यात्रातर्फ महत्त्वपूर्ण कदम अघि बढाएको छ ।

विश्वकपको एशिया तथा पूर्वी एशिया–प्रशान्त छनोट प्रतियोगितामा नेपालले अघिल्लो दिन यूएईविरुद्ध १ रनको अविश्वसनीय जित निकालेको थियो भने सोमबार कतारमाथि ५ रनले जित निकाल्दै लगातार दोस्रो रोमाञ्चक जित दर्ता गर्‍यो ।

यो जितले नेपाललाई आगामी वर्ष हुने टी–२० विश्वकपको ढोका नजिक पुर्‍याएको छ । हालसम्म ६ अंक जोडिसकेको नेपाल सुपर सिक्स चरणको अङ्कतालिकामा दोस्रो स्थानमा छ । अब नेपाललाई विश्वकप सुनिश्चित गर्न बाँकी दुई खेलमध्ये एक जित आवश्यक छ । नेपालले रनरेटका आधारमा शीर्ष स्थानमा रहेको ओमान र अंकविहीन पाँचौँ स्थानमा रहेको सामोआसँग खेल्न बाँकी छ ।

कतारका ओपनर इमाल लियानागे ९५६ रन० र जुबेर अली ९५२ रन०ले पहिलो १० ओभरमै ७९ रनको साझेदारी गर्दै टोलीलाई सहज जिततर्फ डोर्याइरहेका थिए । तर, लेगस्पिनर सन्दीप लामिछानेले लियानागेलाई बोल्ड गर्दै खेलमा नेपालको पुनरागमन गराए । त्यसपछि उनले अर्को ओभरमा मोहम्मद वसिमलाई आउट गर्दै दबाब बढाए ।

चौधौँ ओभरमा लगातार दुई रनआउट नेपालका लागि टर्निङ प्वाइन्ट बन्यो । नन्दन यादवको ओभरमा पहिलो बलमा दीपेन्द्रसिंह ऐरीले मिर्जा मोहम्मद बेगलाई र दोस्रो बलमा आदिल आलमले जुबेर अलीलाई रनआउट गरेपछि कतारको लय पूर्ण रूपमा बिग्रियो ।

अन्तिमसम्म टिकी रहेका जुबेर अली आउट भएपछि कतारको जितको आशा कमजोर हुँदै गयो, तर खेल अन्तिम ओभरसम्म तन्किएको थियो ।

अन्तिम ओभरमा नेपालकाे रोमाञ्चक जित

कतारलाई अन्तिम ओभरमा जितका लागि ६ बलमा १० रन चाहिएको थियो । बल सन्दीप लामिछानेका हातमा थियो । उनले पहिलो दुई बल डट फ्याले, तेस्रो बलमा आमिर फारुखलाई स्टम्पिङ आउट गरिदिए । चौथो बलमा १ रन र पाँचौँमा २ रन दिँदै दबाब कायम राखे ।

अन्तिम बलमा जितका लागि छक्का आवश्यक थियो, तर आक्रमण गर्ने प्रयासमा मोहम्मद जमान पनि सन्दीपको सिकार बने । वाइडजस्तो देखिएको बलमा विकेटकीपर आशिफ शेखले चतुराईपूर्वक स्टम्पिङ गरेपछि नेपालले रोमाञ्चक ५ रनको जित सुनिश्चित गर्‍यो ।

सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र २० रन दिएर ५ विकेट हात पारे । उनको यो प्रदर्शनले नेपाललाई जित मात्र दिलाएन, विश्वकप नजिक पुर्‍याउने ऐतिहासिक क्षण पनि निर्माण गर्‍यो ।

 

प्रकाशित : २८ आश्विन २०८२, मंगलबार, ,