राजनीति

नेकपा स्थापना दिवसमा आज एमालेले विशेष कार्यक्रम गर्ने



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विक्रम संवत् २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ रहेका थिए भने संस्थापक नेताहरूमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । पछि मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरू पनि पार्टीसँग जोडिएका थिए ।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रूपमा स्थापना भएको नेकपाले सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण–उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।

स्थापनाको करिब आठ दशक पुग्न लाग्दा नेपालमा कम्युनिष्ट पार्टीहरूले पटक–पटक शासनसत्ता सञ्चालन गरे पनि लगातारको टुटफुट र सत्ताकेन्द्रित राजनीतिका कारण कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको टिप्पणी हुँदै आएको छ ।

स्थापना दिवसको अवसरमा नेकपा एमालेले आज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे सुरु हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी रहेको छ ।

प्रकाशित : ९ बैशाख २०८३, बुधबार, ,