मुख्य समाचार

एमाले विधान महाधिवेशन बन्दसत्र : प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुतीकरण हुँदै



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आइतबार पनि जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भइरहेको महाधिवेशनको तेस्रो दिन आज बन्दसत्रमा प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुत गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बन्दसत्र बिहान ८ बजेबाट सुरु हुने कार्यतालिका छ । महाधिवेशनमा प्रस्तुत सातवटा प्रतिवेदनमाथि प्रदेशगत र संगठनगत समूहहरूमा भएको छलफलपछि आज ती समूहका नेताहरूले सुझाव पेस गर्नेछन् ।

यस क्रममा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूह नेताले आफ्नो निष्कर्ष प्रस्तुत गर्नेछन् । त्यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति, प्रवास संरचना, केन्द्रीय कार्यालय तथा विभागीय निकायका प्रतिनिधिले पनि आ–आफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिने कार्यक्रम छ ।

समूहगत सुझाव प्रस्तुत भएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । कुनै विषयमा सहमति हुन नसकेमा मतदानमार्फत टुङ्गो लगाएर एकीकृत रूपमा विधान पारित गरिने गौतमले जानकारी दिए ।

यस्तै, आजै समसामयिक प्रस्ताव पारित गर्ने तथा केन्द्रीय निर्वाचन आयोगमार्फत निर्वाचन सम्पन्न गर्ने कार्यक्रम पनि रहेको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरबाट आएका दुई हजार २६ जना प्रतिनिधि र आयोजकतर्फका ३१५ जना गरी दुई हजार ३४१ जनाको सहभागिता छ । महाधिवेशन आजै सकिने कार्यतालिका रहेको छ ।

प्रकाशित : २२ भाद्र २०८२, आइतबार, ,