मुख्य समाचार

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि सुरु



काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्नेछन् ।

पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार विभाग सदस्य राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २ हजार ३४१ जना सहभागी हुनेछन्। सहभागी अधिकांश प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्।

महाधिवेशन स्थल पुग्ने सातदोबाटो–गोदावरी सडक खण्डमा १८ वटा स्वागतद्वार बनाइएको छ। “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली हाम्रो गन्तव्य” भन्ने मूल नारा तय गरिएको छ। उद्घाटन सत्रमा डिजिटल प्रविधिको प्रयोग गरिएको छ।

प्रतिनिधि परिचय स्क्यान गर्न ६ वटा कम्प्युटर बुथ राखिएका छन्। त्यहींबाट प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकले प्रवेश पाउने व्यवस्था गरिएको छ। सनराइज हलमा प्रवेशका लागि ४ वटा डिजिटल ढोका राखिएका छन्। प्रवेश द्वारमै अध्यक्ष ओलीको पूर्णकद तस्बिर र महाधिवेशनको लोगो राखिएको छ। हलभित्र पनि लोगो, एमाले र अंग्रेजीमा ‘CPN-UML’ लेखिएको व्यानर टाँसिएको छ।

महाधिवेशन स्थललाई आकर्षक बनाउन फोहोराका पोखरीमा सेता हाँसका जोडी सजाइएको छ। परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, जननेता मदन भण्डारीका साथै कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र लेनिनका पूर्णकदका तस्बिर राखिएका छन्।

उद्घाटन समारोह करिब १२ मिनेटमा सकिने र त्यसपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। उक्त प्रतिवेदन सचिवालय बैठकले हिजै पारित गरेको थियो। त्यसपछि उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै प्रस्तुत गरिने कार्यक्रम छ।

आजको कार्यसूची साँझ ५ बजे सकिनेछ। भोलि विभिन्न ९ वटा समूहमा प्रतिवेदनमाथि छलफल हुनेछ भने पर्सिपल्ट समूहगत निष्कर्ष प्रस्तुत गरी अध्यक्ष ओलीको समापन सम्बोधनसँगै महाधिवेशन सम्पन्न हुने एमालेले जनाएको छ।

यसअघि, एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यही सनराइज हलमै सम्पन्न गरेको थियो।

प्रकाशित : २० भाद्र २०८२, शुक्रबार, ,