काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार बुधबार सातवटै प्रदेशका राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको थियो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज उम्मेदवारको मनोनयनविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ। आयोगले पुस २५ र २६ गते मनोनयनपत्र र परेका उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
त्यसैगरी पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन हुने तय भएको छ।























प्रतिक्रिया