मुख्य समाचार

एमाले–कांग्रेसबाहेक अरुले सरकार बनाउन सक्दैनन्: ओली



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अन्य कुनै शक्तिले सरकार बनाउन नसक्ने दाबी गरेका छन् ।

‘नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयमा मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा मंगलबार आयोजित विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पद बाँडफाँटको सहमति भइरहेको भन्ने चर्चा आफूले सुनेको उल्लेख गर्दै यस्तो दाबी गरेका हुन् । उनले एमाले र कांग्रेसबाहेक अरु दलले सरकार बनाउने हैसियत नरहेको स्पष्ट पारे ।

अध्यक्ष ओलीले “जसलाई जहाँ भेट्यो, त्यहीं प्रधानमन्त्री बाँडेर हुँदैन,” भन्दै मोर्चाबन्दीले एमालेलाई कुनै असर नपर्ने टिप्पणी गरे । उनले ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै संसद् पुनःस्थापना नै हालको राजनीतिक निकासको प्रमुख बाटो रहेकोमा जोड दिए ।

कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लोकतन्त्र र मुलुकको रक्षाका लागि वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भदौ २३ र २४ का घटनापछि पुराना तथा ठूला दलका नेतालाई लक्षित गरी आक्रमण गर्ने प्रवृत्ति गलत भएको बताए ।

यस्तै, प्रतिष्ठानका अध्यक्ष एवं एमालेका नेता प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र र राष्ट्रको रक्षाका लागि पुराना दलहरूको सक्रियताको विकल्प नरहेको उल्लेख गरे ।

एमाले केन्द्रीय सदस्य तथा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले महाधिवेशनमार्फत नयाँ र पुराना पुस्ताबीच अनुभव आदान–प्रदान हुँदा वर्तमान परिस्थितिमा नयाँ ऊर्जा सिर्जना भएको बताइन्।

प्रकाशित : १६ पुस २०८२, बुधबार, ,