मुख्य समाचार

कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा जेठ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो र परिणाम असोज ३० गतेको निर्णयअनुसार सार्वजनिक गरिएको हो।

बोर्डले दिएको विवरण अनुसार, ९ हजार ९३४ जना पुराना आंशिक र ४ हजार ९७६ जना ग्रेड वृद्धि गरी जम्मा १४ हजार ९१० परीक्षार्थी सहभागी भएका थिए।
तीमध्ये -पुराना आंशिक समूहमा ५,९१६ जना (५९.५५%),ग्रेड वृद्धि समूहमा ३,५४० जना (७१.१४%)ले उत्तीर्ण ग्रेड प्राप्त गरेका छन्।

दुवै समूह मिलाएर हेर्दा ९,४५६ परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्, जसको औसत सफलता दर ६३.४२ प्रतिशत रहेको बोर्डले जनाएको छ।

यसअघि केही अनियमितता फेला परेकाले, परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थी क्रमांक ४२३००७३६ र ५७१०६९८७ का सम्पूर्ण विषयको चालू खण्डको परीक्षाफल रद्द गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

बोर्डले परीक्षाफलको विस्तृत विवरण वेबसाइट र अन्य माध्यमबाट अवलोकन गर्न सकिने जनाएको छ।

 

प्रकाशित : ३१ आश्विन २०८२, शुक्रबार, ,