मुख्य समाचार

नेपाल खुलिसकेको सन्देश विश्वभर पुर्‍याउनुस्’: प्रधानमन्त्री कार्की‘



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विदेशीस्थित सबै नेपाली नियोगका प्रमुखहरूलाई ‘भर्चुअल’ सम्बोधन गर्दै मुलुकको हालको राजनीतिक र आर्थिक अवस्था सम्बन्धी जानकारी दिनुका साथै स्पष्ट निर्देशनसमेत दिएकी छन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा नेपालमा भएको ठूला राजनीतिक परिवर्तनबारे सम्बन्धित मुलुक र सरोकारवालाहरूलाई जानकारी गराउन निर्देशन दिइन् ।

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन शान्तिपूर्ण र सफल बनाउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक हुन सक्ने भएकाले त्यसका लागि नियोगहरूले सम्बन्धित सरकार र संस्थासँग समन्वय र सहकार्य अघि बढाउनुपर्ने उनको भनाइ छ ।

आन्दोलनका कारण केही समयका लागि पर्यटनलगायत आर्थिक गतिविधि सुस्त भए पनि अहिले नेपाल खुलिसकेको र आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किसकेको सन्देश विश्वभर पुर्‍याउन नियोग प्रमुखहरूलाई उनले निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले थप भनिन् -“अब हामीले नेपालको सकारात्मक रूप, पुनर्निर्माणको गति र परिवर्तनको सन्देश सबै ठाउँमा पुर्‍याउनुपर्छ।”

उनले विदेशस्थित लाखौँ नेपाली समुदायको भूमिकाको उच्च प्रशंसा गर्दै, नियोगहरूले चुस्त, छिटो र प्रविधिमैत्री सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। साथै, पुनर्निर्माणका लागि खोलिएको कोषका विषयमा समेत आवश्यक प्रचारप्रसार गर्न निर्देशन दिइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

प्रकाशित : २३ आश्विन २०८२, बिहिबार, ,