मुख्य समाचार

जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक हुँदै अध्यक्ष ओलीले भने : राष्ट्रप्रति समर्पित भएर अघि बढ्नुपर्छ



काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी विद्रोहपछि पहिलोपटक मंगलबार सार्वजनिक भएका छन्।

भक्तपुरको गुन्डुस्थित नयाँ भाडाको घरमा बसेका ओली भेटघाटका क्रममा नेता तथा कार्यकर्तासहित देखिएका हुन्। भेट्न पुगेकाहरूले उनीसँग भेटघाट गरी फोटो खिचेर फर्किएका थिए।

ओलीले भक्तपुर सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी एवं कार्यकर्तालाई सम्बोधन गर्दै, युवाहरू जिम्मेवार र राष्ट्रप्रति समर्पित भएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले भने, “हामीले समाजलाई सभ्य, सुसंस्कृत र विकसित बनाउन लाग्नुपर्छ। असभ्य र गैरजिम्मेवार हुन पाइँदैन। शिक्षा, श्रम र विचारले सुसज्जित युवा पुस्ताले मात्र देशलाई समुन्नत बनाउन सक्छ।”

जेनजी प्रदर्शनका क्रममा भएको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै ओलीले नेपाल र नेपालीलाई माया गर्नेले आगजनी, तोडफोड र लुटपाट गर्न नसक्ने धारणा राखे।

उनले युवाहरुलाई निराश नबनि, सकारात्मक सोचसहित अघि बढ्न र लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

“बादल लाग्यो भन्दैमा आकाश सधैं ढाकिरहन्छ भन्ने होइन, बिहान पनि आउँछ, उज्यालो पनि हुन्छ,” ओलीले हौसला जगाउँदै भने।

भदौ २३–२४ गतेको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली यसअघि सार्वजनिक रुपमा देखिएका थिएनन्।

प्रकाशित : ८ आश्विन २०८२, बुधबार, ,