मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त : जेन–जीको मागप्रति सरकार नकारात्मक छैन, घुसपैठकै कारण दुःखद घटना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी प्रदर्शनमा नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

सोमबार साँझ मन्त्रीपरिषद् बैठकपछि विज्ञप्ति जारी गर्दै उनले मृतक परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । साथै, सम्पूर्ण घटनाक्रम, क्षति र कारणबारे अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिने पनि उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले जेन–जीको आन्दोलनमा विभिन्न स्वार्थ समूहहरूको घुसपैठका कारण संवैधानिक संस्थामा तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने गतिविधि भएपश्चात अवस्था नियन्त्रण गर्ने क्रममा अप्रिय घटना भएको बताए । उनले भने, “जेन–जी पुस्ताले राखेका मागप्रति सरकार नकारात्मक थिएन, हामी ती माग सुन्दै थियौं । तर, घुसपैठका कारण दुःखद परिस्थिति उत्पन्न भयो ।”

सामाजिक सञ्जालबारे उनले सरकारले कहिल्यै स्थायी रुपमा बन्द गर्ने नीति नलिएको दाबी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सूचिकरण र नियमनका लागि कदम चालिएको बताएका छन् । उनका अनुसार, विगत एक वर्षदेखि सूचिकरणको आग्रह गर्दै आएको भए पनि केही कम्पनीहरूले बेवास्ता गरेपछि अदालतको निर्देशनअनुसार अस्थायी रूपमा सञ्चालन रोकिएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने सरकारको अठोट दोहोर्याए । साथै, यस घटनाले आफूलाई मर्माहत बनाएको भन्दै मृतक परिवारलाई श्रद्धाञ्जली र शोकसन्तप्तलाई समवेदना व्यक्त गरे ।

यसैबीच, मन्त्रीपरिषद् बैठकले घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्ने र बन्द गरिएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

प्रकाशित : २४ भाद्र २०८२, मंगलबार, ,