मुख्य समाचार

नेपालमा अहिलेसम्मकै ठूलो मानवीय क्षति



काठमाडौं । नेपालका युवा पुस्ता ‘जेनेरेसन–जी’ (१३ देखि २८ वर्ष उमेर समूह) ले सुरु गरेको आन्दोलन पहिलो दिनमै देशको इतिहासकै सबैभन्दा हिंस्रक बन्न पुगेको छ ।

सोमबार सुरु भएको आन्दोलनमा प्रहरीले गरेको दमनका कारण ठूलो मानवीय क्षति भएको छ ।

शान्तिपूर्ण प्रदर्शनका रूपमा माइतीघर मण्डलाबाट सुरु भएको आन्दोलन नयाँबानेश्वर पुगेपछि हिंसात्मक स्वरूपमा परिणत भएको थियो । संसद् भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरूले गेट भत्काउने, आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास र गोली प्रहारसम्मको बल प्रयोग गरेको हो ।

गृह मन्त्रालयका अनुसार सोमबार अबेर रातिसम्म प्रहरीको गोली लागेर १९ प्रदर्शनकारीको मृत्यु भएको छ भने ३४० भन्दा बढी घाइते भएका छन् । विद्यालय र कलेज ड्रेसमै प्रदर्शनमा आएका युवामध्ये केहीको टाउकामै गोली लागेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ । गम्भीर घाइतेका कारण मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

यो आन्दोलन कुनै राजनीतिक दलको नेतृत्वमा नभई युवाहरूको स्वतःस्फूर्त अभियानका रूपमा अघि बढाइएको थियो । विद्यालय र कलेजका विद्यार्थीहरू सामाजिक सञ्जालमार्फत परिचालित भई आन्दोलनमा सहभागी भएका थिए । यद्यपि, विभिन्न राजनीतिक दलका नेताहरू र केही समूहहरूले समर्थन जनाएका थिए ।

आन्दोलन हिंसात्मक बन्दै गएपछि नेतृत्व गरिरहेका युवाहरूले सहभागीहरूलाई घर फर्किन आह्वान गरेका थिए ।

नेपालमै पहिलोपटक युवापुस्ताले नेतृत्व गरेको यति ठूलो आन्दोलनमा देखिएको क्षति विश्वका अन्य मुलुकमा भइरहेको जेन–जीको आन्दोलनसँग पनि जोडिएको छ । ‘ग्लोबल प्रोटेस्ट ट्र्याकर’का अनुसार पछिल्लो एक वर्षमा १४७ राष्ट्रमा प्रदर्शन भएका छन्, जसमा ७० भन्दा बढी मुलुकमा ठूला आन्दोलन भएका छन् र अहिले पनि ३३ मुलुकमा आन्दोलन सक्रिय छन् । विशेषगरी अफ्रिकी मुलुकहरू—केन्या, घाना, युगाण्डा, नाइजेरिया, मोजाम्बिक—र युरोपेली मुलुक सर्बियामा जेन–जीको आन्दोलन सशक्त बनेको छ ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौंका विभिन्न स्थानमा कफ्र्यु आदेश जारी गरेको छ । सोमबार दिउँसो १२ः३० बजेदेखि कफ्र्यु आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मीन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कफ्र्यु आदेश जारी गरिएको उल्लेख छ ।

प्रशासनले राष्ट्रपति कार्यालय शीतलनिवास, उपराष्ट्रपति कार्यालय हरितगृह, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा पनि कफ्र्यु आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, वा घेराउ गर्न पाउने छैन भन्दै आदेश जारी गरेको छ । जेन-जीको प्रदर्शनसँगै कफ्र्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्थाबमोजिम जिल्ला सुरक्षा समितिको सिफारिशमा नेपाली सेना खटिएको जानकारी दिँदै भन्नुभयो, ‘शान्ति सुरक्षामा खटिने निर्णय लिखित रूपमा प्राप्त भएपछि सानो टुकडी शान्ति सुव्यवस्था कायम गर्न तैनाथ भएको छ ।’

प्रकाशित : २४ भाद्र २०८२, मंगलबार, ,