काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि औपचारिक रुपमा आरम्भ भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नसम्म सम्पन्न गर्नुपर्ने व्यवस्था छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनलाई सोह्रश्राद्ध भनिन्छ। यस अवधिमा दिवंगत पितृप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, सिदादान र पिण्डदान गर्ने वैदिक सनातन परम्परा रही आएको छ। यसलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार सोह्रश्राद्ध गर्दा पितृ ऋणबाट मुक्त भइने र पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ। जाताशौच, मृताशौच वा रजस्वला अवस्थाबाहेक श्राद्ध नगरे अक्षम्य दोष लाग्ने शास्त्रीय मान्यता रहेको छ।
यदि निर्धारित समयमा श्राद्ध गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म, वा विकल्पका रूपमा कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) वा मङ्सिरको वृश्चिक सङ्क्रान्तिसम्म पनि गर्न सकिने उल्लेख शास्त्रीय ग्रन्थमा छ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले श्राद्ध अपराह्नमै गर्नुपर्ने भए पनि कतिपय पुरोहितहरूले बिहानै गर्न लगाउने प्रवृत्ति शास्त्रसम्मत नभएको प्रष्ट पारेका छन्।
सोह्रश्राद्ध सकिएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ आरम्भ हुन्छ। ठूला पर्व मनाउनुअघि पितृलाई सम्झेर तर्पण र पिण्डदान गर्ने वैदिक परम्परा आजसम्म निरन्तर चल्दै आएको छ।























प्रतिक्रिया