मुख्य समाचार

माइतीघरमा जेनजी पुस्ताको प्रदर्शन,बानेश्वरसम्म मार्चपास गर्ने तयारी



काठमाडौं । सोमबार काठमाडौंमा माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन्।

सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्। जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन्। नेपाल सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पारेपछि जेन जेड पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए। प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने, ‘निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन।’

जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन्। आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरुले ऐक्यवद्धता जनाइरहेका छन् ।   आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थन गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रममा आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्। कांग्रेस नेता शेखर कोइरालालेसमेत यो आन्दोलन जायज भएको बताएका छन्।

 

प्रकाशित : २३ भाद्र २०८२, सोमबार, ,