मुख्य समाचार

जेनजी पुस्ताको आवाज सामाजिक सञ्जालदेखि सडक सम्म



नेताका छोराछोरीको बिलासी जिन्दगीलाई टिकटकमार्फत सार्वजनिक गर्दै चलाएको ‘नेपो बेबी ट्रेण्ड’ भारइल अभियानसँगै अहिले टीकटकमा अर्को ट्रेन्ड छ– भ्रष्टाचारविरुद्ध ८ सेप्टेम्बर अर्थात् सोमबार भेला भएर समर्थन जनाऔं। जेनजी पुस्ताको आवाज सामाजिक सञ्जालबाट सडकमा सम्म आउने तरखरमा छ ।

जहाँ कसैको नेत्रृत्व हुने छैन, स्वतस्फूर्त आन्दोलन हुनेछ, कुनै झण्डा हुनेछैन्, स्वतन्त्र हुनेछ, सत्ताको मनोमानीविरुद्ध सामाजिक सञ्जालमा देखिएको आक्रोस सडकमा उत्रनेछ । जसलाई ‘जेनजी विद्रोह’ भनिदैछ । जुन विद्रोह आक्रोशको आवाज हुनेछ। अस्तव्यवस्थ राज्य प्रणाली र नियन्त्रणमुखी सरकारका निर्णयविरुद्धको आवाज बन्नेछ । नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तरलाई देखाउनेछ ।

भोलि अर्थात सोमबार जेनजी पुस्ताले सडकमा आन्दोलनको तयारी गरेको छ । संसद भवन घेर्नेगरी गरिएको आन्दोेलन प्रचार अहिले माइतीघर मण्डलामा कायम रहने भनिएको छ। आवाज, आन्दोलन, विद्रोह स्वभाविक छ । केही बौद्धिक पेशामा आवद्ध भएका मानिस जेनजीको आह्वानमा अझ आक्रोश थप्ने काममा पनि सक्रिय भएका छन्। सरकारको मनामानीविरुद्ध, भ्रष्टचारविरुद्धको आक्रोश स्वभाविक भए पनि यसको दिशानिर्देश कस्तो हुनेछ? परिणाम के आउला? यसको पूर्वानुमान नगरी हावा भर्ने काम पनि चलिरहेका छन्।

जेनजी पुस्ताको परिवार भ्रष्टचारबाट चोखो छ? भोलिको आन्दोलनमा भ्रष्टाचारविहीन परिवारबाट यीनिहरुले उपस्थिति जनाउँछन् त? यो पेचिलो प्रश्न पनि नेपथ्यमा सामुन्ने हुनेछ।

यो अफ्रिका र एसीयाका कतिपय मुलुकमा चलेको हावाको बेगका रुपमा नेपालमा छिरेको छ । तर यसको असली एजेन्डा भने संविधान, कानुनभन्दा पनि भ्रष्टाचार र राजनीतिक दल अनि नेता र तिनका परिवारप्रतिको बितृष्णाका रुपमा प्रचारात्मक छ।

नेपालको परिप्रेक्षको आह्वान र अन्य मुलुकमा भएका प्रदर्शनको कारण कस्ता थिए?

इन्डोनेशियामा यो पुस्ताले गरेको विषय नेपालको भन्दा फरक हो। उनीहरु मानव अधिकारको रक्षाका निम्ति सडकमा उत्रिएका थिए।

जकार्ता पोस्टका अनुसार आधा शताब्दी बितिसक्दा पनि, १९६५ का मानव अधिकार पीडितहरू र उनीहरूका परिवारहरू नाम गुमाएका छन् र न्याय प्राप्त गर्नबाट टाढा छन्। र राष्ट्रपति जोको जोकोवी विडोडोको दोस्रो कार्यकालमा केही पनि परिवर्तन हुने सम्भावना छैन। तैपनि, सरकार र सांसदहरूले विभिन्न विवादास्पद विधेयकहरू खारेज गर्न माग गर्दै देशभरका कम्तिमा नौ शहरहरूमा भएको पछिल्लो विशाल विद्यार्थी विरोध प्रदर्शनले नयाँ आशा दिने अखबारले जनाएको छ।

इन्डोनेशियामा मानव अधिकारको लागि लडाईं पूर्ण रूपमा विनाशकारी नहुन सक्छ। विरोध प्रदर्शनको क्रममा, विद्यार्थीहरूले फौजदारी संहिताको संशोधनमा रहेका कठोर परिच्छेदहरूलाई अस्वीकार गरे, जुन धेरैलाई डर छ कि यसले अल्पसंख्यकहरू, महिलाहरूलाई अपराधी बनाउनेछ र गोपनीयता र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मानव अधिकारलाई कमजोर बनाउनेछ।

नेपालमा भने दुई विषयलाई महत्व दिने भनिएको छ। पहिलोचाहिँ सामाजिक सञ्जाल नियमनमा नआए बन्द गर्ने सरकारको निर्णयको बिरोध अनि दोस्रोचाहिँ राजनीतिक व्यक्तिका छोराछोरीको सुखमय जीवन बिताउने शैलीको अर्थात् नेपोकिड्स।

यी विषय र मुद्दा गज्जबका भए पनि काठमाडौं केन्द्रित प्रदर्शनमा उपस्थित हुने नयाँ पुस्ताको परिवारलाई कस्तो असर गर्ला? यो एक प्रकारको राजनीतिक चेत भए पनि आफूमाथिको पनि प्रश्न हो कि होइन?

यो प्रदर्शन चर्किएर राजनीतिमा परिवर्तन आउला तर त्यसको स्थायी समाधान के होला? यसमा राज्यका तर्फबाट दमन भयो भने अझ सशक्त पनि बन्ला तर नियम र कानुनको परिधिलाई उल्लङ्घन गर्दा बंगलादेशले अहिले भोगीरहेको राजनीतिक अस्थिरताको चपेटा होला कि नहोला?

अस्तब्यस्त देश बन्दा विदेशी शक्तिको कुनचाहिँ केन्द्र हावी होला? यी यावत प्रश्न पनि प्रदर्शनको जायज मागसँगै नेपथ्यमा दौडिरहेका हुनेछन्।

प्रकाशित : २३ भाद्र २०८२, सोमबार, ,