पर्यटन

पहिलो दिन नौ जनाले चुमे शिखर वसन्तयाममा धौलागिरि आरोहण सुरु



म्याग्दी। विश्वको सातौँ अग्लो धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरिमा पहिलो दिन नौ जनाले सफल आरोहण गरेका छन् ।

इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार यस सिजनको पहिलो सफल आरोहण गरेका हुन् ।

कम्पनीका अनुसार चीनका लिउ होङ, लिउ यिशी, वाङ झोङ, स्विट्जरल्याण्डका क्रिस्टिन भोगोन्डी तथा नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धौलागिरिको शिखर चुमेको हो ।

टोलीका नेता फुर ग्याल्जेन शेर्पाले शनिबार दिउँसो ११ः४० बजे टोली शिखरमा पुगेको र सकुशल तेस्रो आधार शिविरमा फर्किएको जानकारी दिए । शेर्पा टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि अन्य आरोही शिखरतर्फ उक्लिएका थिए ।

पर्यटन विभागका अनुसार यस वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुरुषले अनुमति लिएका छन् । यसबाट सरकारलाई एक करोड २५ लाख ६० हजार ८५० रुपैयाँ सलामी दस्तुर प्राप्त भएको छ ।

गत शरद् याममा धौलागिरि आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए ।

छिनछिनमा बदलिने मौसम धौलागिरि आरोहणको मुख्य चुनौती मानिन्छ । अन्य हिमालको तुलनामा धौलागिरि आरोहण जोखिमपूर्ण र साहसिक मानिन्छ ।

धौलागिरि हिमाल पहिलो पटक सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गर नेतृत्वको टोलीले सफल आरोहण गरेको थियो ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार, ,