पर्यटन

मनासलु क्षेत्र भ्रमण पन्ध्र हजार विदेशी पर्यटकले गरे



सुलीकोट । सन् २०२५ को एक वर्षको अवधिमा १४ हजार नौ सय ८० जना पर्यटकले उत्तरी गोरखाको मनासलु क्षेत्र भ्रमण गरेका छन् । उत्तरी गोरखामा बेमौसमी बाढी, पहिरो, हिमपात, भौगोलिक विकटता र जेनजी आन्दोलनको बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाले जनाएको छ ।

मनासलु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाले तयार पारेको तथ्याङक अनुसार एक वर्षको अवधिमा १४ हजार ९८० जना पर्यटक मनासलु क्षेत्र भ्रमण गर्न आएका हुन् । जसमध्ये नेपाली पर्यटक २४० जना, सार्क राष्ट्रका  पर्यटक ३४४ जना र विदेशी पर्यटक १४७३८ पर्यटक मनासलु संरक्षण क्षेत्र भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र एमक्याप गोरखाका प्रमुख सन्तोष सेरचनले बताउनुभयो ।

मनासलु संरक्षण क्षेत्र प्रबेश गर्ने विदेशी पर्यटकलाई प्रतिब्यक्ति ३ हजार, सार्क राष्ट्रका पर्यटकलाई १ हजार र नेपाली पर्यटकलाई रु दुई सय रुपियाँ प्रवेश शुल्क तिर्नुपर्ने एमक्याप कार्यालय गोरखाले जनाएको छ ।

गत वर्षको सन् २०२४ मा १० हजार ६०२ जना पर्यटक मनासलु क्षेत्र भ्रमणमा आएका थिए, कार्यालय प्रमुख सन्तोष सेरचनले भन्नुभयो, ‘यो एक वर्षको अवधिमा झण्डै ४० प्रतिशत पर्यटक वृद्धि भई बढेर एक वर्षमा १४ हजार ९८० जना पर्यटक मनासलु क्षेत्र भ्रमण गरेका छन् ।’

प्रकाशित : २१ पुस २०८२, सोमबार, ,