breaking news

पर्यटकको बढ्दो आगमनसँगै आयआर्जनको भरपर्दो विकल्प बन्दै घोडा



गण्डकी,२ पौष । नेपालकै एक मात्र सिकार आरक्ष बागलुङस्थित ढोरपाटनको विशाल पाटनमा दगुरिरहेका घोडा यहाँको पर्यटकीय आकर्षण हुन् । ढोरपाटनमा पुग्ने जो कोहीले घोडा चढेर तस्बिर तथा भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने गरेका छन् । यिनै तस्बिर तथा भिडियो यतिखेर ढोरपाटनको प्रवर्द्धनको राम्रो माध्यमसमेत बनेको छ ।

सामाजिक सञ्जालका माध्यमबाट घोडा चढेका तस्बिर तथा घोडामा शयर गरेका भिडियोहरूकै कारण देश विदेशका विभिन्न ठाउँँबाट पर्यटक ढोरपाटन आउने गरेका छन् । पछिल्ला समयमा ढोरपाटनमा घोडचढी व्यवसाय राम्रैसँग फस्टाएको व्यवसायीहरू बताउँछन् ।

ढोरपाटनमा विगत लामो समयदेखि घोडा शयर गराउँदै आएका ढोरपाटन जाने मार्गस्थित फल्लेघरका बेगबहादुर कामीका अनुसार पछिल्लो समयमा यहाँका घोडा पालकहरूले राम्रै आम्दानी गरिरहेका छन् । ढोरपाटनमा सयभन्दा बढी घोडा रहेको बताउँदै उनले घोडाका माध्यमबाट पर्यटकले राम्रै मनोरञ्जन लिने गरेको बताए । सामान्यतः एउटा घोडा किन्नका लागि रु दुई लाख लगानी गर्नुपर्ने उनले बताए ।

यस वर्ष चिसो लागिसके पनि फाट्टफुट्ट आएका पर्यटकका कारण यहाँको पर्यटनमा केही राहत भएको व्यवसायी बताउँछन् । यस क्षेत्रमा घोडा शयर प्राचीनकालदेखि नै हुँदै आएकामा यसको आकर्षण अहिले पनि उत्तिकै रहेको कामीको भनाइ छ ।

ढोरपाटनमा आएका पर्यटक घोडामा नै चढेर यहाँका होमस्टे तथा होटेलबाट पाटन क्षेत्र घुम्नुका साथै धार्मिक महत्वको उत्तरगङ्गा ढोरबराहमा पुग्ने गर्दछन् । सामान्यतः घोडामा शयर नगरी तस्बिर मात्रै खिचेबापत व्यवसायीले पर्यटकबाट रु १०० सम्म लिने गर्दछन् । अन्य भिडियो बनाएको तथा घोडा शयर गरेको थप रकम लिने गरिएको छ ।
व्यवसायीहरूले १५ मिनेट घोडामा शयर गरेको रु २०० लिने बताउँदै कामीले माथि दखर्कसम्म पुगेर आएको रु तीन हजार ५०० सम्म लिने गरिएको जानकारी दिए । “मैले यस क्षेत्रमा सम्भावना देखेर नै विगत ३० वर्षयता घोडा तथा खच्चड पाल्दै आएको छु”, कामीले भने, “पछिल्लो समयमा सडक यातायातको सुविधा भएसँगै खच्चड पाल्न भने छोडेको छु ।”

प्रकाशित : २ पुस २०८२, बुधबार, ,