बलेफि गाँउपालिका

बलेफी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित



बलेफी – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका आईतबार ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित भएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित जिल्ला खोप समन्वय समिति सिन्धुपाल्चोकले औपचारिक रूपमा घोषणा गर्दै पालिकालाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख तथा खोप समन्वय समितिका संयोजक बालकृष्ण श्रेष्ठले एक सन्देश पठाउदै पालिकालाई बधाई दिँदै सम्पूर्ण अभिभावक, स्वास्थ्यकर्मी र सरोकारवालाको प्रयासको प्रशंसा गरे ।

बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा तामाङले बालबालिकाको स्वास्थ्य सुरक्षामा खोपको योगदान अमूल्य रहेको भन्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित हुनु नहुने धारणा व्यक्त गरे । “खोपले बालबालिकामा विभिन्न रोगविरुद्धको प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, त्यसैले सबै अभिभावक जिम्मेवार बन्नुपर्छ,” अध्यक्ष तामाङले भने ।

स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेका अनुसार बलेफी गाउँपालिकाका ८ वटै वडालाई वडास्तरीय खोप समन्वय समितिहरूको सक्रियतामा पूर्ण खोपयुक्त घोषित गरिएको हो । घोषणाअघि प्रत्येक घरधुरीमा १५ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै व्यापक सर्वेक्षण गरिएको थियो । “सर्वेक्षणका क्रममा एक जना पनि बालबालिका कुनै खोपबाट छुटेको पाइएन,” उनले बताए ।

स्वास्थ्यकर्मीहरूको निरन्तर परिश्रम, समुदायको सहयोग र समन्वयकै कारण बलेफी पूर्ण खोप सुनिश्चित पालिकाको मान्यता पाएको हो । पालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरेको छ ।

प्रकाशित : ३० जेष्ठ २०८२, शुक्रबार, ,