देवराज सुवेदि मेलम्ची,अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिहरूको स्वास्थ्य पुनःस्थापना र आर्थिक–सामाजिक सेवामा पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाका क्रियाकलाप कार्यान्वयनमा अपनाइएको विधि र उपलब्धि सम्बन्धी सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अपाङ्गता तथा सीमान्तकृत समुदाय लक्षित कार्यक्रमहरूले वास्तविक रूपमा जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइरहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता परियोजनाले सेवामा पहुँच नपुगेका नागरिकलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
उपप्रमुख उमा प्रधानले संस्थाले गरिरहेको कामले अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिहरूलाई आत्मनिर्भर बन्न अगाडि बढ्न ठोस टेवा पु¥याएको बताउनुभयो ।
नगरपालिकाले यस्ता मानवीय र परिणाममुखी कार्यमा सधैं साथ दिँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्यलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले परियोजनाका गतिविधिहरू कागजी सीमाभन्दा बाहिर गएर प्रत्यक्ष जीवनसँग मेल खाने खालका रहेको उल्लेख गर्नुभयो ।
अपाङ्गता भएका व्यक्तिहरू र आयआर्जनका विभिन्न क्षेत्रमा गरिएको कामले समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएको उहाँले बताउनुभयो । कार्यक्रम वास्तवमै राम्रो र उदाहरणीय रहेको उहाँले बताउनुभयो ।
वडा नम्बर १३ का अध्यक्ष श्रीराम घोरासैनीले परियोजनाको प्रभावकारिताको प्रशंसा गर्दै स्थानीय तहमा साझेदारीमा गरिएको काम दिगो हुने बताउनुभयो । कार्यक्रममा अधिकांशले सिप मुलक काम,फिजियो थेरापिसेवा लगायत संस्थाले गरेका कामको चर्चा गरेका थिए ।
कार्यक्रममा टुकी संघ सुनकोशीका अध्यक्ष माधवप्रसाद पौडेलले परियोजनामार्फत अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन देखिएको उल्लेख गर्नुभयो ।
समुदायको आवश्यकतालाई केन्द्रमा राखेर आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तर अघि बढाइने प्रतिबद्धता पनि जनाउनुभयो । सामाजिक परीक्षण कार्यक्रममा सरोकारवाला निकाय, जनप्रतिनिधि, विभिन्न सघं संस्थाका प्रतिनिधि,विभिन्न विषयगत शाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
























प्रतिक्रिया