एमसीसी अनुमोदन गर्न गठबन्धनका शिर्ष नेताहरु सहमत
काठमाडौँ १५ फागुन। सत्ता गठबन्धनका शीर्ष नेताहरू एमसीसी अनुमोदन गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटरमा आज बिहान बसेको बैठकमा सत्ता गठबन्धनमा एमसीसी अनुमोदन गर्ने विषयमा औपचारिक निर्णय भएको हो ।
संसद्बाट ‘व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न’ सत्ता गठबन्धनमा रहेका दलबीच सहमति जुटेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका छन ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल‚ कृष्णप्रसाद सिटौला‚ महामन्त्री गगनकुमार थापा‚ उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।
आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । गठबन्धन दलबीच औपचारिक समझदारी बनेमा प्रस्ताव आजकै बैठकबाट दफावार छलफल गरेर पारित गर्ने छलफल नसके सोमबार अनुमोदन गराउने गरि तयारी गरिएको स्रोतले दाबी छ।
वि.सं.२०७८ फागुन १५ आइतवार १३:१२