काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबार काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सञ्चालन हुन लागेको पार्टीले जनाएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बन्दसत्रका औपचारिक कार्यक्रम मध्याह्न सवा १२ बजेपछि सुरु हुनेछन् । यसअघि बिहानै बन्दसत्र सुरु गर्ने तयारी भए पनि त्यसअघि केन्द्रीय कमिटी बैठक बस्ने भएपछि कार्यक्रमको समय परिवर्तन गरिएको हो । गौतमका अनुसार बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्नेछ ।
महाधिवेशनमा कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनबाट अध्यक्ष एक, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने कार्यतालिका रहेको छ ।
महाधिवेशनको क्रममा सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन गरिएको छ । साथै, महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।
नेतृत्व चयनमा सहमति जुट्न नसके मतदान प्रक्रियाबाट पदाधिकारी र केन्द्रीय कमिटी चयन गरिने एमालेको तयारी छ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारीसमेत गरिएको पार्टीले जनाएको छ ।
























प्रतिक्रिया