राजनीति

नेकपा एमालेले सार्बजनिक गर्‍यो ११ औं महाधिवेशनको लोगो



काठमाडौं,१४ मंसिर । नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि प्रतिक चिह्न (लोगो) सार्वजनिक गरेको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा दिएर एमालेले लोगो बनाएको छ ।

लोगोमा नेपालको राष्ट्रिय झण्डासहित धरहरा, सूर्यभित्र हँसिया हथाैडा र काष्ठमण्डपको चित्र राखिएको छ । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।

पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रूप भएको बताइन् । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिह्न आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको उनको भनाइ छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो । सोही अवसरमा महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि यही मङ्सिर १३ गते मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ ।

प्रकाशित : १४ मंसिर २०८२, आइतबार, ,