काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सोमबार बिहान करिब ५० मिनेट भेटवार्ता भएको छ। प्रचण्ड विप्लवलाई भेट्न हरिसिद्धीस्थित उनको निवास पुगेका थिए।
प्रचण्ड सचिवालयका अनुसार भेटवार्तामा पछिल्ला राजनीतिक घटनाक्रम, समाजवादी मोर्चाको सुदृढीकरण र पार्टी एकताको सम्भावनाबारे छलफल केन्द्रित भएको थियो। प्रचण्डले पार्टी एकताबारे माओवादी केन्द्रको स्थायी समितिले निर्णय गरिसकेको भन्दै यो प्रक्रिया सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।
विप्लवले भने आगामी भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक निर्णय लिइने बताए। दुवै नेताबीच समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउने विषयमा पनि विचार–विमर्श भएको सचिवालय सदस्य नारायण चन्दले जानकारी दिए।
भेटका क्रममा प्रचण्डले विप्लवले सञ्चालन गरेको कृषि फार्मको अवलोकनसमेत गरेका थिए। उत्पादनसँग जोडिएको विप्लवको पहललाई प्रशंसा गर्दै उनले पार्टी एकता र समाजवादी मोर्चालाई सकारात्मक दिशामा अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्।
दुवै नेताका निकट स्रोतले आजको भेटलाई राजनीतिक भन्दा पनि बढी आत्मीय र पारिवारिक स्वरूपको भएको बताएका छन्।























प्रतिक्रिया