मुख्य समाचार

प्रश्नबाट भाग्दै प्रधानमन्त्री वालेन्द्र



काठमाडौं । झण्डै दुई तिहाइ जनमत पाएको रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसद्मा उठेका प्रश्नको जवाफ दिनबाट पुनः पछि हटेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री स्वयं उपस्थित नहुने भएपछि उनको भूमिकामाथि थप प्रश्न उठेको हो।

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले ले जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा भने प्रधानमन्त्री शाह स्वयंले संसद्मा जवाफ दिने उल्लेख गरिएको थियो।

प्रधानमन्त्री बनेपछि शाहले अहिलेसम्म संसद्मा औपचारिक सम्बोधन गरेका छैनन्। नेपालको संसदीय इतिहासमै प्रधानमन्त्री संसद्मा मौन बसेको सम्भवतः पहिलो घटना भएको भन्दै राजनीतिक वृत्तमा यसको आलोचना भइरहेको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बीचमै संसद् बैठकबाट बाहिरिएको घटनाले पनि व्यापक विवाद निम्त्याएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बे ले प्रतिनिधिसभा बैठकमै प्रधानमन्त्रीको व्यवहारमाथि कडा टिप्पणी गर्दै आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री उठेर हिँड्नु कुनै पनि संसदीय अभ्याससँग मेल नखाने बताएका थिए। उनले यस घटनाले संसद्को गरिमा घटाएको र जनताको मन दुखाएको टिप्पणी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणसमेत गराउन सुझाव दिएका थिए।

प्रधानमन्त्री शाहको व्यवहारलाई लिएर सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म आलोचना भइरहेको छ। धेरैले यसलाई “असंसदीय”, “अमर्यादित” र “अस्वाभाविक” व्यवहारको संज्ञा दिएका छन्। राष्ट्रप्रमुखमार्फत संसद्मा प्रस्तुत गरिने नीति तथा कार्यक्रम सरकारको आगामी कार्यदिशा र बजेटको आधार मानिने भएकाले यसको संवैधानिक र राजनीतिक महत्व अत्यन्तै ठूलो रहने गर्छ। तर प्रधानमन्त्रीकै उदासीनताले सरकार संसदीय परम्परा र स्थापित राजनीतिक संस्कारभन्दा फरक दिशातर्फ अघि बढिरहेको टिप्पणी हुन थालेको छ।

प्रधानमन्त्रीको पोशाक शैलीलाई लिएर पनि आलोचना भएको छ। राष्ट्रपतिले सम्बोधन गर्ने संसद्को औपचारिक कार्यक्रममा अनौपचारिक पोशाकमा उपस्थित भएको विषयलाई लिएर प्रश्न उठाइएको हो। आलोचकहरूले सेनासम्बन्धी कार्यक्रममा भने प्रधानमन्त्री दौरासुरुवाल र कालो टोपीमा देखिएको स्मरण गर्दै संसद्प्रति उपेक्षा गरिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार पोशाक केवल देखावटी विषय नभई राज्यको प्रतिनिधित्व, कूटनीतिक मर्यादा र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो।

यसैबीच, हर्क साम्पाङले पनि प्रधानमन्त्री संसद्मा उपस्थित भएर पनि सांसदका प्रश्नको जवाफ नदिनु जनताका प्रश्नबाट भाग्नु सरह भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले जनताको प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको संकेत भएको बताएका हुन्।

साम्पाङले सरकारको सीमा सुरक्षा, सुकुम्बासी बस्तीमाथिको डोजर अभियान र जनताको सुरक्षाजस्ता विषयमा पनि प्रश्न उठाउँदै जनता सरकारसँग डराएर बाँच्नुपर्ने अवस्था आएको टिप्पणी गरे। राजनीतिक वृत्तमा सरकार गठन भएको छोटो अवधिमै देखिएको कार्यशैलीले अपेक्षित सकारात्मक परिवर्तनको संकेत नदिएको चर्चा समेत बढ्न थालेको छ।

प्रकाशित : ३० बैशाख २०८३, बुधबार, ,