सूचना / प्रविधि

प्रेस चौतारीको सदस्यलाई क्षमतावान् बनाउँछौँ,देशैभरि तालिम सञ्चालन गर्छौँ : गणेश पाण्डे



काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले संगठन बलियो हुनलाई वैचारिक र व्यावसायिक सदस्य हुनुपर्ने बताउनुभएको छ ।

दोलखाको जिरीमा प्रेस चौतारी नेपाल वाग्मती प्रदेशको दोस्रो बैठकमा बाल्दै पाण्डेले त्यसैले प्रेस चौतारी नेपालले यो वर्षलाई प्रशिक्षणको वर्षका रूपमा अघि बढाएको बताउनुभयो । प्रेस चौतारी नेपालका सदस्यको वैचारिक, क्षमतावान् र व्यावसायिक पत्रकार उत्पादनको लागि देशभर तालिम सञ्चालन गरिने पाण्डेले स्पष्ट पार्नुभयो ।

प्रेस चौतारीमा आबद्ध पत्रकारहरूलाई संगठन, पार्टी र अहिलेको अवस्थाको बारेमा विशेष प्रशिक्षण आवश्यक रहेको पाण्डेको भनाइ छ ।  प्रशिक्षित कार्यकर्ता मात्र प्रतिबद्ध भएर लाग्ने उहाँले बताउनुभयो ।

प्रेस चौतारी नेपालले विश्वका २५ भन्दा बढी देशका कम्युनिष्ट पार्टीका पत्रकारहरूसँग सम्बन्ध विस्तार गर्न यो वर्ष अन्तर्राष्ट्रिय मिडिया फेस्टीवल गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

चौतारीले पार्टीले सञ्चालन गर्ने गतिविधिको समाचार लेख्न प्रत्येक जिल्लामा एक जना र सामाजिक सञ्जालबाट पार्टीमाथि भइरहेको घेराबन्दी चिर्न हरेक जिल्लामा तीन जना प्रेस चौतारीकर्मी परिचालन गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले प्रेस चौतारी नेपाल लामो सङ्घर्ष र धेरै दुःख पार गरेर आएको संगठन भएको बताउनुभयो । त्यसैको प्रतिफल अहिले संगठन सफलताको सिँढीमा उक्लिएको उहाँले सुनाउनुभयो । ‘इतिहासमा प्रेस चौतारी नेपालले धेरै पटक हारिसकेको छ, अहिले जितको सुनौलो समय सुरु भएकाले सबै एकताबद्ध भएर लागौँ’, उहाँले भन्नुभयो ।

संगठनमा नेतृत्व, नियन्त्रण र सञ्चार महत्त्वपूर्ण हुने भएकाले यो विषयलाई बुझेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।  संगठनलाई बलियो बनाउन शुद्धीकरण र सुदृढीकरण अत्यावश्यक भएको उहाँको भनाइ छ ।

पछिल्लो समय सञ्चार गृह र पत्रकारमाथि घोषित रूपमै आक्रमणका घटनाहरू भइरहेकोले सचेततापूर्वक काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मिडिया कसैको नियन्त्रणमा हुन नहुने उहाँको स्पष्ट धारणा छ ।

 

प्रकाशित : २८ बैशाख २०८२, आइतबार, ,